विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।

बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह गरेको छ।

बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता, बीमितप्रति विभेदपूर्ण व्यवहार तथा आवश्यक औषधि र सेवामा कमी भएको विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत कुनै पनि गतिविधि नगर्न बोर्डले सचेत गराउँदै अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।

यदि अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियम उल्लङ्घन भएको पुष्टि भएमा कानुनअनुसार कडा कारबाही गरिने बोर्डले जनाएको छ।