राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले परिवर्तनको एजेन्डा बोकेर आफूहरू जनताको माझ आएको बताएका छन्।

सोमबार काठमाडौंमा घरदैलोका क्रममा थापाले यस पटकको चुनाव यथास्थितिवादी (संघीयता र गणतन्त्र पक्षधर) र परिवर्तनकारी (हिन्दू राष्ट्र र राजसंस्था पक्षधर) विचार र शक्तिको बीचमा हुन लागेको बताए। आफू भने परिवर्तनको एजेन्डा बोकेर जनताको माझमा आएको उनको भनाइ छ।

अहिलेको निर्वाचन जेनजी आन्दोलनको जगमा हुन लागेकाले भ्रष्टाचारको अन्त्य र सुशासनको माध्यमबाट देशको आर्थिक समृद्धि हुनुपर्ने युवाहरूको मागलाई राप्रपाले अघि बढाउने थापाको भनाइ छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने आफूहरूको एजेन्डा रहेको थापाले बताए।

जनताहरू समेत परिवर्तनको पक्षमा रहेकाले सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने आफूहरूको अभियानमा साथ प्राप्त हुने उनको दाबी छ।