नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) नौदेखि १२ महिना मैदानबाहिर रहने भएकी छन्।

बुधबार अस्ट्रेलियन शीर्ष डिभिजन क्लब वेलिङ्घन फोनिक्सले साम्बाको स्वास्थ्य परीक्षणका क्रममा गम्भीर चोट लागेको देखिएको पुष्टि गरेको छ। उनी नौदेखि १२ महिनासम्म मैदानबाहिर रहने सक्ने क्लबले जनाएको छ।

“सिजनको अन्त्यमा साम्भा घाइते भएकी छन्। उनको स्वास्थ्य परीक्षण (एमआरई) गर्दा दायाँ खुट्टामा गम्भीर चोट लागेको पुष्टि भएको छ। र, उनी यही चोटका कारण नौदेखि १२ महिना मैदानबाहिर बस्ने भएकी छन्।”

क्लबका अनुसार, यही जनवरी ३ मा सम्पन्न ब्रिस्बेन रोरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन्। खेलको दोस्रो हाफमा बल नियन्त्रणमा लिन खोज्दा साम्बाको खुट्टा ब्रिस्बेनकी गोलकिपर क्लोइ लिंकनसँग ठोक्किएको थियो।