धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट चुनाब लड्ने घोषणा गरेका छन्। साम्पाङले सामाजिक संजालबाट यो घोषणा गरेका हुन्।

सुनसरी-१ धरान उपमहानगरपालिका रहेकै निर्वाचन क्षेत्र हो। यो क्षेत्रमा २०७९ प्रतिनिछि सभा निर्वाचनमा जनता समाजवादीका अशोक राईले मुस्किलले जितेका थिए। एमालेको समर्थन समेत पाएका उनले १७ हजार ५९ मत पाएका थिए।

यहाँ रास्वपा दोस्रो भएको थियो। रास्वपाकी गोमा तामाङले १६ हजार ६०६ मत पाएकी थिइन्। तामाङ केवल ४५३ मतले राईभन्दा पछि परेकी थिइन्। कांग्रेसको समर्थनमा लडेका माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत पाएर तेस्रो भएका थिए।