नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि मुर्दावादको नारा लागेको छ। मंगलबार निधि पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोज्दा विशेष महाधिवेशन पक्षधरले अवरोध गरेका थिए। 

कार्यसम्पादन समिति बैठकमा सहभागी हुन जान लागेका निधिलाई महाधिवेशन पक्षधरले अवरोध गरेका हुन्। 

केन्द्रीय कार्यालयको मुख्य गेटमा भेला भएका उनीहरूले अवरोध गरेपछि प्रहरीले पञ्छाएर भित्र छिराएको थियो। प्रहरीको बलमा भित्र छिरेपछि निधिले आफूलाई पार्टी कार्यालय प्रवेश गर्न रोक्न खोज्ने कांग्रेसी नभएको बताएका थिए। ‘तपाईँहरू कांग्रेसी होइन,’ निधिले भनेका थिए। त्यसपछि महाधिवेशन पक्षधरले नाराबाजी गरेका थिए। 

विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएपछि उनीहरूले पनि अर्को खेमाका नेताहरूलाई भित्र छिर्न अवरोध गरिरहेका छन्। 

निधिलाई पार्टी कार्यालय प्रवेशका क्रममा धकेलाधकेलको स्थिति समेत आएको छ। निधिले विशेष महाधिवेशन हुँदैन भनेपछि उनीविरुद्ध मुर्दावादको नारा समेत लागेको थियो।