इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माइखोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरूको भीड लागेको छ। 
स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो। उक्त घट्नालाई स्थानीयले ‘अद्भुत धार्मिक घटना’ मानेका छन्।
सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो स्थानमा उत्खनन गर्दा लाम्चो आकारको शिला (ढुङ्गा) फेला परेको हो। उक्त घट्नापछि इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतुहलता दुवै बढाएको छ। अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिँदै गएको छ।
इलाम नगरपालिका–४ की २३ वर्षीया प्रमिला कार्कीले सपनामा सो स्थानमा पाँच वटा शिला देखेको भनेपछि स्थानीयले उत्खनन गर्दा शिला भेटेका थिए। त्यसपछि सो क्षेत्रमा भिडभाड बढेको र नयाँ नयाँ माता एवम् धामीझाँक्रीहरु आएर पूजा गरिरहेका छन्। शिला हेर्नका लागि मानिसहरू गाडी रिर्जब समेत गरेर राजदूवाली पुगिरहेका छन्। स्थानीयले उक्त शिलालाई पाथीभरा माताको अद्भुत लीला र आस्थाको प्रतीकका रूपमा लिएका छन्। 
गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडकखण्ड क्षतविक्षत भएको र सोही स्थानमा शिला भेटिएको हो। तर, शिलालाई कन्याको घरमा मन्दिर निर्माण गरी स्थापना गर्ने कि माईखोला किनारमै राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ। सो विवादकै कारण हाल शिलालाई त्यही स्थानमै सुरक्षित राखिएको स्थानीयहरूले बताएका छन्।