नवनियुक्त चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। 
आज शीतल निवासमा आयोजित एक विशेष समारोहमा मन्त्रीहरू महावीर पुन, जगदीश खरेल, अनिलकुमार सिन्हा र डा. मदन परियारले राष्ट्रपति समक्ष शपथ लिएका हुन्।
पूर्वन्यायाधीश रहेका सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालय सम्हाल्नेछन्। कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए।
यसैगरी, इमेज टिभीका समाचार प्रमुख रहेका जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् भने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।
मन्त्री बन्ने सूचीमा डा. मदन परियार पनि रहेका छन्। उनलाई कृषि विकास तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिन मन्त्री दिइएको छ। उनी कृषि विज्ञ हुन्।
यसअघि पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. सङ्गीता मिश्रालाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिएको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध भ्रष्टाचार आरोपमा छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिएकी थिइन्।