काठमाडौँ उपत्यकाभित्र अब जथाभाबी यात्रु चढाउने र ओराल्ने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने भएको छ।
यातायात व्यवस्था विभागले तोकिएको स्थानमा मात्र सवारीसाधन रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ। जथाभाबी सवारी रोकी यात्रु चढाउने र ओराल्ने काम गरेको पाइए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ।
बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण तथा सडक पूर्वाधार अभावले गर्दा काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको र यो समस्या समाधान गर्न तोकिएको स्थानमा मात्र सवारी रोक्न विभागले सूचित गरेको हो।
काठमाडौँ उपत्यकामा जथाभाबी सवारी रोक्ने र यात्रु चढाउने समस्या छ भने तोकिएको स्थानमा पनि यात्रु कुर्न अनावश्यक समय रोकिराख्ने समस्या सार्वजनिक यातायातमा छ।