काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा दमकल पुग्न नसकेको बताए। तर महानगरपालिकाको प्रयासमा विभिन्न ठाउँमा दमकलमा पानी भर्न सयौं ट्यांकर समेत पठाइएको उनले जिकीर गरे।
‘हामीले अनुरोध गरेर, सयौं पानी ट्यांकरहरु सहयोगको रुपमा लिएर आएर, तत् ठाउँमा दमकलसँग पानी सकिएको अवस्थामा त्यहीँ पानी फिलिङ पनि गरेका थियौं,’ पाण्डेले भने, ‘त्यसमा हामी चुकेका छैनौं। महानगरले दमकल पठाएन भन्ने गलत कुरा हो।’
दमकल आफैं पनि सुरक्षित हुनुपर्ने भएकाले बाटो क्लियर होस् भन्ने हिसाबले पर्खिएको उनले बताए। त्यसको लागि नेपाली सेनासँग पटक–पटक समन्वय गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए।
‘आर्मी हेडक्वाटरको अपरेसन हेर्ने जर्साबसँग समन्वय गरेर हामीले दमकल परिचालन गरेका हौं। यसमा कोही भ्रममा नहुन म अनुरोध गर्न चाहान्छु,’ पाण्डेले भने।