मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा मंगलबार डोरी चुँडिएर खस्दा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
याङ्गलको प्रयोग गरेर मसला बोक्ने क्रममा डोरी चुँडिएर झरेको याङ्गलले किच्दा बेलबारी नगरपालिका–९ डाँगीहाटकी ४८ वर्षीय देवकुमारी राजवंशीसहित घाइते भएका थिए। याङ्गलले लागेर गम्भीर घाइते भएकी देवकुमारीलाई उद्धार गरी उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
याङ्गलले किचेर घाइते बेलबारी–९ की ५० वर्षीया डामानी राजवंशी, ४० वर्षीया शर्मीला राजवंशी र ३१ वर्षीया रेनुका राजवंशी नोबेल अस्पतालमै उपचाररत छन्।
स्थानीय होमबहादुर कटुवालको घर ठेक्कामा लिएर निर्माण गर्दै आएका खड्गबहादुर कार्कीले लगाएका कामदारले याङ्गलको प्रयोग गरेर मसला बोक्ने क्रममा दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिएकी छन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।