ऊर्जा मन्त्री कुलमान घिसिङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग फोन संवाद गरेका छन्। उनले झलनाथकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यबारे जानकारी लिएका हुन्।
जेन जेड आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन्। अहिले उनी अस्पतालमा उपचाररत छिन्। आन्दोलनपछि रविलक्ष्मीको निधन भएको हल्लासमेत चलेको थियो।
झलनाथपत्नी रविलक्ष्मी कुलमानकी पूर्वशिक्षिका रहेको बुझिएको छ। कुलमान अस्कल क्याम्पसमा आइएस्सी पढ्दा रविलक्ष्मीले उनलाई पढाएकी थिइन्। त्यही व्यक्तिगत सम्बन्धका कारण पनि उनी रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे चिन्तित बनेका थिए।
झलनाथले फोनमा पत्नीको स्वास्थ्य अवस्था र आफ्नो घरमा भएको आगजनीबारे बताएका थिए। कुलमानले रविलक्ष्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।