ऊर्जा, जलस्रोत तथा सिँचाई, यातायात तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन्। 
मङ्गलवार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिदहरूको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए। 
उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाइहरूले सुरु गरेको आन्दोलनले एउटा ठुलो परिवर्तन ल्याएको छ। उहाँहरूले देशको लागि धेरै ठुलो योगदान दिनु भएको छ। उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ। त्यसलाई हामीले साकार पार्नुपर्ने छ। उहाँहरूले उठाउनु भएको विषयलाई आगामी सरकारहरूले पनि लिएर अगाडि बढ्नुपर्ने छ। उहाँहरूले धेरै कुरा उठाउनु भएको थिएन देशमा भ्रष्टाचार हुनुहुँदैन, सुशासन कायम हुनुपर्छ, देशलाई आत्म निर्भरता तर्फ लानुपर्छ भन्ने जुन आशा थियो यसलाई पूरा गर्न अब हामी अगाडि बढ्नुपर्छ।’
यस्तै, उनले देशलाई सही दिशा तर्फ लानको लागि गम्भीर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए।