गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन्।

गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोडसहित आगजनी गरेका थिए। आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन्।

अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत काम भएको बताए।

त्यस्तै, उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए। उनले भने,‘हामी नेपाली हौं। यो हाम्रो मातृभूमि हो। जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ। त्यसैले अब केही कुरामा धैर्यता राख्नु पनि पर्छ। हामी सबैको उद्देश्य एउटै छ। भावना एउटै छ। देशलाई नष्ट पार्ने काम चाँही कसैले पनि गर्न हुँदैन। अब भौतिक संरचनाको पुननिर्माण मात्र नभएर हाम्रो आचरण पद्दतीको पनि पुन निर्माण हुन सक्छ यो। यसमा सबै स्टेकहोल्डरहरुको कुरा आएपछि काम अगाडि बढाउँछौं।’