जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले फेसबुकबाट गरेको राजीनामाको कानुनी वैधता र मान्यता नहुने हुँदा जनताको काममा फर्किन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
जेन–जी आन्दोलनका कारण राजीनामा दिएका कतिपय नगर प्रमुख र वडाध्यक्षले काममा फर्किन अप्ठ्यारो मानेकाले समस्याको गाँठो फुकाउन प्रमुख आचार्यले लिखित निर्देशन नै जारी गरेका हुन्।
उनले जिल्लाका सबै ६ नगरपालिका र ४ गाउँपालिकालाई पत्राचार गर्दै मुलुकमा देखिएको विषम परिस्थितिका कारण अवरुद्ध भएका स्थानीय तहका काम सुचारु गर्न निर्देशन गरेका छन्। ‘अहिले मुलुकको परिस्थिति सामान्य बन्दै गएकाले जनता र विकासका काममा लाग्नु पर्ने अवस्था छ,’ उनले भने, ‘यसैबाट जनताको विश्वास पुनः जित्ने हो।’
काममा नजाँदा अझ अन्योल र अस्थिरता थपिने, जनताका असन्तुष्टि बढ्दै जाने भएकाले पालिका र त्यसअन्तर्गतका कार्यालयसँग सम्बन्धित सेवा नियमित रूपमा संचालन गर्न निर्देशन गरिएको प्रमुख आचार्यद्वारा जारी सूचनामा उल्लेख छ।