नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेलबारी नगर कमिटीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी र राष्ट्रसेवक कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
सोमबार जारी विज्ञप्तिमा पार्टीले दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
एमाले बेलबारी नगर कमिटीका अध्यक्ष शंकर गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा जेनजी युवाहरूले अघि सारेका सुशासन र भ्रष्टाचार अन्त्य गर्ने जस्ता सकारात्मक मागहरूलाई पार्टीले पूर्ण समर्थन गरेको उल्लेख छ।
तर बेलबारीसहित देशैभर सार्वजनिक तथा सामाजिक सम्पत्तिमाथि भएको तोडफोड र आगजनीको घटनाप्रति भने दुःख व्यक्त गर्दै भर्त्सना गरिएको छ। साथै पार्टीले क्षति भएको सम्पत्तिको पुनर्निर्माणमा सबैलाई जुट्न आह्वान गरेको छ।
विज्ञप्तिमा नगरबासीलाई शान्ति र सुव्यवस्था कायम गर्न, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र गणतन्त्रमाथि कुनै खतरा नआओस् भनी सतर्क रहन पनि आग्रह गरिएको छ।