नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ।
फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ।
नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो। कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए।
मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन्। उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गरे।
त्यस्तै, बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन्।
कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ। दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिने छ।

दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।