नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ।

दोस्रो दिनको बन्दशत्रमा सहभागी हुन जाने क्रममा मन्त्री चढेको गाडीले हरिसिद्धि घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो।

गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका थिए। स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएर मन्त्री चढेको गाडी नरोकी सरासर हिँडेको थियो।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको एमले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनमै जानकारी गराएका थिए।

दुर्घटना भएपछि स्थानीयले सडक अवरुद्ध गरेपछि उनले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको आरोपसमेत लगाएका छन्।

रानाको गाडीले बालिकालाई ठक्कर दिएपछि एमाले विधान महाधिवेशनसमेत केही ढिला सुरु भएको छ।