मकवानपुरमा आगलागीबाट २ करोड बराबरको क्षति भएको छ।

मकवानपुरको बकैया गाउँपालिका-५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो।

आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन्। घाइते जिम्बालाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिदा आगलागी भएको थियो। आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको छ। 

यसैगरी, नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीको टोली, हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।