यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरू वन प्रस्थान गरेका छन्।
प्रत्येक वर्षझैं यस वर्ष आज यंलाथ्व दुतिया सोमबारको दिन केन्द्रीय मानन्धर सङ्घका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जङ्ग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन्।
पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज बिहान ठिक ९ः४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन्।
आज वन प्रस्थानका लागि सङ्घको अगुवाइमा गएका प्रतिनिधिहरूले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा) को लागि यःसिं काट्ने अर्थात् वृक्ष कर्तन गरिने छ।
यस वर्षको यँया (इन्द्रजात्राको लागि समिति दिएको साइतअनुसार आज (सोमबार) राती ९ः०३ को साइतमा वृक्ष कर्तन गरिनेछ। यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पूजा गरिनेछ।
त्यसपछि सुनको बन्चरो, चाँदीको बन्चरोले साङ्केतिक रूपमा घाउ गरेपछि रुख काट्न सुरु गरिनेछ। आज राति साइत मात्र गरेपछि भोलि बिहानैदेखि यःसिंको लागि छनोट गरिएको रुख काट्न सुरु गरिन्छ भने भोलि नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ।
सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौँको भोटाहिटी (भोताहिति) मा राखिनेछ। यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ। भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमान ढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ।
त्यसपछि यंलाथ्व द्वादशी (भदौ १९ गते) बिहीबार बिहान १०ः३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने छ। यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रूपमा सुरु भएको मानिन्छ।