बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ।
विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रूपमा चोरी निकासी गर्दै गर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला परेको हो।
मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला परेको हो।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीका कमाण्डमा गस्ती टोली सो स्थानमा खटाइएको थियो।
स्पेशम्यान एसपी चालिस हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रति थान दुई हजार पाँच सय रहेको छ। सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मूल्य ४८ लाख पाँच हजार रहेको छ।
गस्ती टोली देख्नासाथ चोरी निकासीमा संलग्न दुवै जना सामान र साइकल छोडेर भारततर्फ भागेको उनले बताए।
पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पुरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए। खुला सिमानाका कारण नेपाल भारत सीमा क्षेत्र अवैध सामान ओसारपसार हुने गरेको पाइन्छ।