नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रूपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरूलाई आह्वान गरेका छन्।
लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आइतबार आयोजित १६ औँ नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बेलायत आउँदा नेपालीहरूले आफ्नो पहिचान, संस्कृति र भाषा पनि सँगै लिएर आएको र त्यो नेपालले गौरव गर्नु पर्ने विषय भएको बताए। 
उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसार भरि चिनाएको भन्दै गोर्खा सैनिकहरूको माग जति सक्दो चाँडो पुरा गर्न आग्रह पनि गरे।
‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मर्म अनुरूप  वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए। उनले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि  उज्यालो नेपाल अभियान सुरु गरिएको भन्दै उक्त अभियानमा साथ र सहयोग दिन सबैलाई आग्रह पनि गरे। 
खाडी मुलुकहरू साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरूको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहेता पनि दश वर्ष सम्म कानुन बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए।  
‘अब थप ढिला नगरीकन यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने। एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे।