सरकारको नेतृत्वकर्ता नेकपा एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताएको छ। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलालले भारत र चीनबिच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको विरोध गर्ने बताएका हुन्।

‘नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने सम्झौता भएको छ। त्यसको विरोध गर्न चाहन्छौँ,’ बर्तौलाले भने, ‘एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्छ। भूगोल र जनसङ्ख्याको हिसाबले देशहरू सानोठुलो हुनसक्ने भए पनि देशको स्वाधीनताको हिसाबले सानोठुलो हुँदैनन्।’

नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि आघात पुग्ने गतिविधिको प्रतिवाद र सशक्त विरोध गर्ने बताए। बर्तौलाले उच्चस्तरको कूटनीतिक संवादबाट यो विषयको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।