प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति छानेर कारबाही गरेको भन्ने आरोपबारे सरकारको जवाफ मागेको छ।
बिहीबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले यस्तो माग गरेका हुन्।
‘अख्तियार प्रमुखले व्यक्ति छनोट गरेर कारबाही गरेको गलत भएको भन्ने अदालतको निर्णयसम्बन्धी समाचारप्रति सरकारको धारणा सार्वजनिक गर्न सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेका छन्।
वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारकै प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नभएको भनेर विशेष अदालतले प्रश्न उठाएको छ। यसै सन्दर्भमा माओवादीले सरकारको जवाफ मागेको हो।