बाजुराको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जिप दुर्घटना हुँदा घाइते भएकी एक व्यक्तिको थप मृत्यु भएपछि मृतकको सङ्ख्या तीन पुगेको छ।

जीप दुर्घटनामा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया, ७५ वर्षीया वाचा रोकायाको घटनास्थलमै मृत्यु भएको र ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।

चौधरीका अनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। जीपमा सवार १९ जनामध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको उद्धारका लागि गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ।