मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र सङ्घीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबिच जनकपुरधाममा भेटवार्ता भएको छ।
मङ्गलवार भएको भेटवार्तामा मधेस प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि सङ्घीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढ्ने सहमति भएको छ।
सङ्घीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी सङ्कट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ। सङ्घीय र प्रदेश सरकारले भएका साधन स्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसंग सम्बन्धित सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गरिने गरी काम अगाडी बढाइनेछ।
जनताले भोगिरहेको खानेपानी सङ्कटका वेला जनताकै साथमा खडा भई दुवै तहका सरकारको अनुभूति हुने गरी काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ।
भेटका क्रममा मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, सङ्घीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरूको उपस्थिति रहेको थियो।