नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले राजनीतिक पार्टीहरू सैद्धान्तिक र वैचारिकरुपमा पूर्नगठित हुन नसके त्यसको मृत्यु हुने बताएका छन्।
शनिवार सोम प्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू– तुलनात्मक अध्ययन’ विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी पूर्नगठन हरेक राजनीतिज्ञ दलहरूको चुनौतीको रूपमा रहेको भन्दै पूर्नगठन हुन नसकेको पार्टी विलय हुने बताएका हुन्।
उनले भने, ‘हरेक कुराको गठन र पुनर्गठन हुन्छ, हरेक क्षण पुनर्गठन भइरहन्छ जून पूर्नगठन हुँदैन त्यसको मृत्यु हुन्छ। हरेक राजनीतिज्ञ दललाई चुनौती छ। जसले आफूलाई पूर्नगठित गर्दैन उसले मृत्यु अवश्य छ। पुस्तकमा भने जस्तो धेरै देशहरूमा कति पार्टी आए कति गए, आज पनि केही देशहरू बाहेक राजनीतिक स्थायित्व छैन।’
उनले राजनीतिक दलहरू कहिले पनि पाको नहुने भन्दै पार्टीहरू आफूलाई बदल्दै नयाँ स्वरूपका आइरहने बताए। ‘पुराना दलहरू सकिँदै छन्। पुराना दलहरूको स्थान नयाँ पार्टीले लिँदै छन् भन्ने भाष्यहरू निर्माण हुँदैछ। पुराना दलले के गरे किन हामी भन्दै कविन्द्र जीहरू लाग्दै हुनहुन्छ। राजनीतिक दलहरू कहिले पनि पाको हुँदैन। राजनीतिक दलको बुढो हुँदैन। बदलिँदै जान्छ पर्नगठित हुँदै जान्छ। जून पुर्न गठित हुँदैन बुढो हुन्छ र मृत्यु हुन्छ,’ उनले भने।
यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले हाल नेपाली समाज पुँजीवादी सिद्धान्त भन्दा पुँजीपति सिद्धान्त अनुसार अगाडि बढिरहेको बताए।
उनले भने, ‘समाज पुँजीवादी सिद्धान्त भन्दा पनि पुँजीपति सिद्धान्त अनुसार समाज अगाडि बढेको देखिन्छ। आफ्नो परिवार आफ्ना नजिकका मान्छेहरूलाई अलि बढी संलग्न गराउने व्यवस्थामा नै प्रहार भइसकेको जस्तो मलाई लाग्दैन।’
उनले सोम प्रसाद मिश्रद्वारा लिखित पुस्तकले अबको राजनीतिकका लागि नवीन धारणा प्रस्तुत गर्न केही मार्गहरू खोलेको पनि बताए।