उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा रहेको विभेद हटाउनका लागि सामूहिक रूपमा काम गर्नुपर्ने बताएका छन्।
शनिवार काठमाडौँ जिल्लाका दलित समुदायबाट एसईई. उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै उनले समाजमा राम्रो गरे चौतर्फी तारिफ मिल्ने भन्दै सामाजिक काम गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘यो समाजमा रहेको विभेद हटाउनका लागि तपाईँ हामी सबैले सामूहिक रूपमा प्रयास गरेर गर्न सकिन्छ। मुख्य कुरा के हो भने हाम्रो समाजमा राम्रो गर्यो भने सबैले ताली पिटेर वाहवाही गर्छन्।’
उनले उच्च शिक्षाका लागि नेपालमै अवसरहरू भएको भन्दै एसईई उत्तीर्ण विद्यार्थीलाई उदाहरणीय बन्न प्रेरित समेत गरे।
‘मिहेनत गर्नपर्छ, उदाहरणीय बन्नुपर्छ त्यसका लागि अवसर छ। एसईईपछि पढ्नका लागि नेपालमै राम्रा कलेजहरू छन्। आफ्नो जीवन बनाउन आफूले आफैँलाई समाल्न सक्नुपर्छ त्यसैगरी देश बनाउन पनि सबै मिलेर गर्नुपर्छ,’ उनले भने।