एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्।
पुडासैनीले सन् २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। एनआरएनए स्थापनामा प्रमुख भूमिका निर्वाह गरेको देश बेलायतमा साथीभाई र अग्रजहरूको सल्लाह बमोजिम आफूले  उम्मेदवारी दिने निधो गरेको उनले बताए।
एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिस गोर्खाजको समानता लडाइँमा ऐक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरूको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्दा भएको पुडासैनीले बताए।
एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनले बताए। एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसँग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर छ। अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउँदै पुडासैनीले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे।
आफू निर्वाचित भएमा एनआरएनए केन्द्र तथा एनसीसीहरुलाई पनि एकताबद्ध बनाउन आफूले सक्दो पहल गर्ने उनले बताए।