ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सातौँ नगरसभाबाट पारित भएको छ।
शुक्रवार बसेको नगरसभाले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको आज बिहान पत्रकार सम्मेलन मार्फत महानगरले जानकारी दिएको हो।
महानगरेको आगामी आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा ३४ वटा क्षेत्रमा ३८८ वटा नीति रहेका छन्।
महानगरले आगामी आवका लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ। जसमा पुँजीगत तर्फको बजेट ४ अर्ब ५० करोड ७७ लाख २९ हजार (६०.३२ प्रतिशत) रहेको छ। प्रशासनिक खर्च १ अर्ब ३३ करोड ३ लाख १८ हजार (१७.७९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सर्शत अनुदान तर्फ १ अर्ब ६३ करोड ६१ लाख (२१.८९ प्रतिशत) बजेट विनियोजन गरिएको छ।
पाटन दरबार स्क्वायर, वुङ्गमति, खोकना, सुनाकोठी, नागदह धापाखेल र हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक को रूपमा घोषणा गर्ने, रिङ्गरोडको कुसुन्तीमा नेपालमै पहिलो लिफ्ट सहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण आगामी आ।व। २०८२/८३ मा सम्पन्न गर्ने गरी महानगरले बजेट व्यवस्था गरेको छ। साथै पाटन अस्पताल अगाडि आकाशे पुल निर्माण सम्पन्न गर्ने बजेटमा उल्ले छ।
चक्रपथको धोविघाटमा साइकल सहित आवतजावत गर्न सकिने आकाशे पुल निर्माणको लागि बजेट व्यवस्था गरिएको छ। लगनखेल स्थित बसपार्कलाई व्यवस्थित, सूचनामैत्री तथा यात्रुमैत्री बनाउने र महानगरभित्र सम्भावना भएका रुटहरूमा साझा बस सञ्चालनका लागि समन्वय गर्ने जस्ता महानगरका बजेटमा समेटिएका मुख्य बुँदाहरू हुन्।