पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ।
पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अङ्क बढेको थियो। तर यस दिनभने लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो। आइतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसूचक आज २२.३५ अङ्क घटेर २६८४.०१ विन्दुमा झरेको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार साढे ९ ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएकोमा आज ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सेन्सेटिभ इण्डेकस ४.१३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.६२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अङ्क घटेको छ।
यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ।