बेलबारी नगरपालिकामा कार्यरत कर्मचारीहरूले अराजक समूहद्वारा गरिएको दुर्व्यवहारको विरोधमा आज एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन पेन डाउन आन्दोलनको घोषणा गरेका छन्।

बेलबारी नगर कार्यपालिकाको कार्यालय परिसरमै ध्यानाकर्षण पत्र दिने नाममा केही व्यक्तिहरूद्वारा कर्मचारीहरूलाई लक्षित गरी व्यक्तिगत आक्षेप, कार्यकक्षमै धाकधम्की र अभद्र व्यवहार गरिएको भन्दै सम्पूर्ण कर्मचारीहरूले ती व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिमा जनाइएअनुसार प्रमुख प्रशासकीय अधिकृत कार्यभार सम्हालेको केही दिनमै (मिति २०८२ असार ८ गते) नगर प्रहरीले प्रवेश नगर्न अनुरोध गर्दागर्दै कार्यकक्षमै हुलहुज्जत गरिएको, कर्मचारीहरूलाई बोरामा हालेर कार्यालयबाट घिसार्ने धम्की दिइएको, सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमार्फत चरित्र हत्या गरिएको, गालीगलौज तथा अशिष्ट व्यवहार गरिएको उल्लेख छ।

कर्मचारीहरूले आन्दोलन अन्तर्गत निम्न कार्यक्रम सार्वजनिक गरेका छन्:

१. असार १३ गते — सम्पूर्ण कर्मचारी (अत्यावश्यक सेवा बाहेक) कालोपट्टी बाँधी कार्यालयमा भेला भई कामकाज नगर्ने।

२. असार १५ देखि १९ गतेसम्म — कालोपट्टी बाँधी नियमित कामकाज गर्ने।

३. असार २० गतेदेखि — अराजक समूहलाई कारबाही नगरेमा अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरिएको छ।

511259136_1130281879137558_4961857529467219821_n

511209842_1130281969137549_6111791493260655476_n

कर्मचारीहरूले कानुनको शासन र सुरक्षित कार्यस्थलको सुनिश्चितता माग गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम दोषीमाथि शीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नगरबासीहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कर्मचारीहरूले यस आन्दोलनलाई बाध्यात्मक परिस्थिति भनेका छन् र जनताको सेवा सुचारु राख्न सुरक्षित वातावरणको माग दोहोर्‍याएका छन्।