कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन्।
बिहीबार काठमाडौँमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैँ श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन्।
उनले भने, ‘हामी असार १५ दही चिउरामा रमाउने मान्छे, रोपाइमा रमाउने मान्छे, श्रावण १५ मा खिर खाने चलन छ। अब कोदो दिवस पनि मनाउन भनेर यसपालि नयाँ प्रस्ताव आउँदै छ। मैले श्रावण १५ कोदो दिवस मनाऔँ भनिरहेको छु। साथै खिर पनि खाँदा हुन्छ भनेर प्रस्ताव राखेको छु।’
उनले किसानलाई दूधको पैसा तिर्न नसक्दा दुग्ध व्यवसायीहरूले बोलाएको ठाउँमा नजान सकेको भन्दै वर्षौदेखि उधारो दूध खाइरहेको बताए।
‘म दुग्ध व्यवसायीहरूले बोलाएको ठाउँमा नजान पाए हुन्छ भन्ने लाग्छ। नेपाल सरकारको प्रतिनिधि मन्त्री हुँ तर किसानलाई पैसा तिर्न सकेका छैनौ। उधारो दूध वषौंदेखि खाइरहेका छौ, त्यो कहिले तिर्ने ? समस्या धेरैतिर छ। तर पनि खुसी भए जस्तो सबैको सामु उभिनु परेको छ,’ उनले भने।
उनले बजारमा मलको हाहाकारी भइरहने भन्दै यो समस्या न्यूनीकरणका सम्भावना नभएको बताए। साथै उनले कृषि बिमामा पनि धेरै समस्या रहेको बताए।