काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानीय समुदायहरूलाई करिब २५ लाख रुपैयाँ बराबरका विपद् व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ।
बुधवार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको हो।
वडा कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्ट्रेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेलमेटलगायत सामान प्रदान गरेको छ। साथै, रत्नराज्य माध्यमिक विद्यालय र रुद्रमती आधारभूत विद्यालय सहित ३ वटा सामुदायिक विद्यालयहरूलाई स्मार्ट बोर्ड, प्रोजेक्टर, स्पिकर, प्रिन्टर प्रदान गरिएको छ।
वडा कार्यालयले पूजा प्रतिष्ठान, थापा गाउँ विकास समिति र अग्रज समाज नेपाललाई हार्मोनियम, तबला, मादल, बाँसुरी, झ्याली, खैँजडी, मुजुरा प्रदान गरेको जनाएको छ। वुद्धनगर विकास समितिलाई प्लाष्टिकका कुर्सीहरू, कार्यालय कुर्सी, टेबुल प्रदान गरिएको छ। यस्तै, पञ्चकुमारी श्रद्धा प्रतिष्ठानलाई योगा म्याट, छक्कुबक्कु भगवती मन्दिरलाई स्पिकर र माइक तथा आर्य समाज नेपाल र बानेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आउटडोर साउण्ड सिस्टम सेट प्रदान गरिएको छ।
सामाग्री वितरण कार्यक्रममा बोल्दै १० नम्बर वडाका वडाध्यक्ष रामकुमार के. सी. ले ‘विपदमा नागरिकको जिउधनको सुरक्षाका लागि नेपाल प्रहरीलाई सहयोग गरेका हौँ। सामूहिक कार्यक्रम वृद्धि गरेर एक्लिँदै गएको मान्छेलाई सामाजिक क्रियाकलापमा व्यस्त बनाउने प्रयास गरेका छौँ। बढ्दो प्रविधिको प्रयोगले मानिस दिनप्रतिदिन एक्लिँदो छ। यसबाट परिवार र समाजप्रतिका दायित्वबाट विमुख बन्दै गएको छ। मानव सभ्यता नै सङ्कटमा पार्ने यी क्रियाकलाप रोक्न हामीले समुदायका लागि सामान, साधन तथा उपकरण प्रदान गरेका हौँ।’