विधायन व्यवस्थापन समितिको बुधवार बसेको ८३औँ बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकका विषयमा भन्सार प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउँदै भन्सार महसुल सङ्कलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्न भन्सार ऐन संशोधन अपरिहार्य भएको उल्लेख गरे।
उनले भने, ‘भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सुरक्षित बनाउन भन्सार महसुल सङ्कलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्नुपर्छ। यसको आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक छ। भन्सारका प्रक्रियालाई सरल प्रभावकारी र प्रविधिमैत्री बनाई अगाडि लानुपर्ने आवश्यकता छ।’
भन्सार ऐन र भन्सार आयोगसँग सम्बन्धित कतिपय प्रावधान संशोधन गर्नुपर्ने देखिएको पनि उनले स्पष्ट पारे। उनले विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव नहुने बताए।
उनले भने, ‘भन्सार सम्बन्धी प्रावधानहरू भन्सार ऐनबाट संशोधन गर्नुपर्ने देखिएको छ। नेपालको भन्सार कानुन र भन्सार आयोगमा कतिपय कुराहरू संशोधन गर्नुपर्ने देखिन्छ। विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव हुन सक्दैन।’