नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरूको सङ्ख्या कम भएको बताएका छन्।
बुधवार नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानीय तहको पनि पूर्वाधारमा निकै ठुलो जोड रहेको बताए।
उनले भने, ‘पर्यटकहरूको सङ्ख्या हामीले सोच जति छैन। यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ। हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा हामीले अपेक्षित मात्रामा पर्यटक ल्याउन सकिरहेको छैनौँ तर पछिल्लो समयमा नेपाल सरकार, विभिन्न निकाय, स्थानीय तहको पनि पूर्वाधारमा निकै ठुलो जोड छ। आजको दिनमा पर्यटन क्षेत्र राम्रो छैन भनेर निराश हुनुभन्दा हाम्रो भविष्य राम्रो छ भनेर आशावादी हुनुपर्छ।’
यस्तै, उनले सवारी साधनको विषयमा गुणस्तरीयता, सरसफाइको साथै, पर्यटकहरूलाई दिने जुन आतिथ्यतालाई सन्तुलनमा राख्नुपर्ने बताए।
उनले भने, ‘सवारी साधनको विषयमा कुरा गर्दा गुणस्तरीयता, सफाई आदि कुरा छँदै छन्, त्यो बाहेक हामीले पर्यटकहरूलाई दिने जुन आतिथ्यता छ त्यसलाई सन्तुलन गर्नुपर्छ। हाम्रो आतिथ्यता कै कारणले नेपालमा आउने पर्यटकहरू दोहोर्याएर आउने गरेका छन्।’