रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। 
ई–रिक्सामा राखी सेतो रङ्गको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रङ्गको कुटको डब्बामा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको हो।
चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए। 
उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई गौर नगरपालिका–३, बिपी चोकबाट  रोकी चेकजाँच गर्दा  विकलाई प्रहरीले पक्राउ गरेको हो। 
लागूऔषधसहित पक्राउ परेका विकलाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ।प्रहरीका अनुसार लागूऔषध फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन ११० एम्पुल, सेरेज्याक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल र डाइजेपाम इन्जेक्सन ४६ एम्पुल बरामद गरिएको छ। 
प्रहरीले विकको बयानको आधारमा बसका कर्मचारीलाई समेत पक्राउ गरी सोधपुछ थालेको जनाएको छ। यस घटनाकाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।