अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत (आठौँ तह) कमल राज गौतम विरुद्ध आरोप पत्र दायर गरेको छ।
उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत ब्यहोराको उजुरीका आधारमा आरोप पत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए। 
गौतम उपर बिगो रु. २,५१,७८,६८७.७१ कायम गरी गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो।
प्रेस विज्ञप्ति:– मिति २०८२।०३।०३ गते
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, पर्साका अधिकृत (आठौँ तह) कमल राज गौतमले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज कमल राज गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५।०१।०७ देखि मिति २०७९/१२/२४ गतेसम्मको जाँच अवधिमा निजको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घर/जग्गा बिक्री आय, सञ्चय कोष, बैङ्कहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण/सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, बिमा परिपक्क/समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी कूल जम्मा रु. २,८९,२०,२६८।१८ (दुई करोड उनान्नब्बे लाख बिस हजार दुई सय अठसट्ठी रुपैंया अठार पैसा मात्र) निजको वैधानिक आय आर्जनका स्रोतहरूमार्फत आर्जन गरेको देखिएको एवं उक्त अवधिमा निजको एकासंगोल घर परिवारको नाममा घर निर्माण, घर/जग्गा खरिद, घर/जग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष/बैंक/जनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी कूल जम्मा रु.५,४०,९८,९५५।८९ (पाँच करोड चालीस लाख अन्ठान्नब्बे हजार नौ सय पचपन्न रुपैयाँ उनान्नब्बे पैसा मात्र) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिँदा कूल/समग्र आयबाट खर्च तथा लगानी (कूल व्यय) घटाउँदा रु.२,५१,७८,६८७।७१ (दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रुपैंया एकहत्तर पैसा मात्र) ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नसकेको हुँदा निजले गैर कानुनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले प्रतिवादी कमल राज गौतमलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिए बमोजिमको कसुरमा तालिकामा विश्लेषण गरिए बमोजिम बिगो रु.२,५१,७८,६८७।७१ (दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रुपैंया एकहत्तर पैसा मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा सोही ऐनको दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगोबमोजिम जरिवाना हुनका साथै प्रतिवादी कमल राज गौतमले राष्ट्रसेवक पदमा बहाली भएपश्चात् वार्षिक रूपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन एवं साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा ३, ऐ.ऐनको दफा १६ग र ऐ. ऐनको दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२), ऐ. ऐनको दफा २० को उपदफा (२), ऐ.ऐनको दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैर कानुनी रूपमा आर्जन गरेको रु. २,५१,७८,६८७।७१ मूल्य बराबरको सम्पत्ति जफत गरी पाउनसमेत माग दाबी लिइएको छ। क्रमश...
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया