३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सङ्घीय राजधानी काठमाडौँ आएका सुर्खेतका नवराज बोहरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन।
मङ्गलवार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौँ आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो। प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिई फर्काइएको थियो।
त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्। उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको प्रहरीले जनाएको छ। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो।
अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए। उनी कर्णालीका मुद्दाहरू एवम् अनियमितता र भ्रष्ट्राचारका विषयहरू लिएर काठमाडौँ आएका हुन्।