वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) को मात्रा १३.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलवार प्रकाशन गरेको चालु आर्थिक वर्ष (आव) २०८१/८२ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रेषणमा वृद्धि भएको देखिएको हो।
राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएर रु १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो।
चालु आवको वैशाखमा ६५ अर्ब ३० करोड विप्रेषणबाट भित्रिएको छ। अघिल्लो वर्षको वैशाखमा विप्रेषण आप्रवाह रु १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो। विप्रेषणबाट गत वर्षको तुलनामा यस वर्ष करिब रु ५० अर्ब बढी रकम नेपाल भित्रिएको छ।
यसैगरी, समीक्षा अवधिमा (चालु आवको साउन देखि वैशाख सम्म) अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।
गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या यस वर्ष ७६ हजारभन्दा बढीले वृद्धि भएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ५ हजार ६१० जना नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन्। यसैगरी, २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३ लाख ७३ हजार ३०७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका थिए भने २ लाख ३६ हजार ३९८ जनाले पुनः श्रम स्वीकृति लाएका थिए।