नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरूले नेताहरूलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौँ सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए।
नेपाली काङ्ग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ।
उनले भने, ‘अहिले हामी सबैभन्दा ठुलो पार्टी छौ। तर हामी तीन वर्षदेखि कहाँ छौ ? सोध्नु भयो वा सोच्नु भयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ रु सबैभन्दा ठुलो पार्टी हुँदा हुँदै पनि करिब तीन वर्षदेखि केही भएको छैन भनेर कसैले कसैलाई प्रश्न गर्दैन। नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो। तर किन बन्यो भनेर प्रश्न गर्दैनौ। नेताहरूलाई कार्यकर्ताहरूले प्रश्न गर्न सकिदैँन भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन।’
यस्तै, उनले आफैँ आफैँ बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैँमा चाहिँ कमजोर नभएको बताए।
उनले तल्लो तहका जिल्लावासीहरूले आफ्ना कुराहरू स्पष्ट रूपले राखेको भन्दै खुसी पनि व्यक्त गरेका छन्।
उनले भने, ‘काङ्ग्रेस चलायमान भएन भनेर भन्नुहुन्छ। म त के भन्छु भने काङ्ग्रेस यति धेरै चलायमान भएको मैले कहिले पाएको थिएन। मलाई आज खुसी के कुरामा लागेको भने तल्लो तहको जिल्लावासीले आफ्ना कुराहरू स्पष्ट रूपले राख्नुभयो। तर हामीहरू त्यो सुन्न तयार छैनौ, नेताहरू त्यो सुन्न तयार छैन।’