नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक रुपमा देखिएको बताएका छन्। 

बिहीबार विश्व वातावरण दिवस–२०८२ को अवसरमा शुभकामना दिँदै उनले सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको बताए। 

उनले भने, नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषि प्रधान तथा तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको संवेदनशील भू–भागमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक देखिएको छ। सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको छ। प्लास्टिक प्रदूषण आजको प्रतिस्पर्धी पूँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम हो, जसले वातावरणीय सन्तुलनमा मात्र होइन, जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीहरूमा समेत दीर्घकालीन असर पुर्याइरहेको छ। त्यसैले यस विषयमा सबै गम्भीर बन्न जरुरी रहेको छ।’

अध्यक्ष प्रचण्डले आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु रहेको धारणा राखे। आज निर्णायक कदम चाल्न नसके भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने उनको भनाई छ। 

उनले भने,‘आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु हो। हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्नेछ।’

प्लास्टिक प्रयोग कम गर्न, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिन, साथै वातावरणमैत्री जीवनशैली विकास गर्न तथा वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा प्रचण्डले सबैलाई आग्रह गरे।