मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकार महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र समग्र विकासमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन्।
जनकपुरधाममा आयोजित तरकारी तथा बाख्रा क्षेत्रमा संवेदनशील मूल्य शृङ्खला प्रमाणीकरण कार्यक्रममा उनले महिलालाई लक्षित योजनाहरूलाई आगामी बजेटमा विशेष प्राथमिकता दिइने जानकारी दिए। ‘अब महिलालाई अघि ल्याउने, सक्षम बनाउने र उनीहरूको सहभागिता सुनिश्चित गर्ने समय आएको छ,’ उनले भने।
मधेसमा कृषिको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मन्त्री जयसवालले महिलालाई कृषि, लघु उद्यम, सीप विकास र स्वरोजगार मुखी कार्यक्रमहरूमा सहभागी गराउने तयारी भइरहेको बताए।
नेपालमा विद्यमान ३३ प्रतिशत महिला आरक्षणलाई मधेस प्रदेशले ५० प्रतिशतमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक कदम भने।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घ र अन्तर्राष्ट्रिय श्रम सङ्गठन आ।एल।ओ नेपालबीच ‘सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमको दोस्रो चरण सञ्चालन गर्न ६ महिनाको सम्झौता भएको जानकारी गराइएको थियो। सम्झौताअनुसार जनकपुरधाममा कृषि मूल्य शृङ्खला मूल्याङ्कनको आवासीय कार्यशाला आयोजना गरिनेछ, जसमा प्रदेश सरकारको प्रतिनिधि सहभागी हुने अनुरोध गरिएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेसका अध्यक्ष अशोक तेमानी, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, सचिव चुडामणि फुयाँल, डिवि बस्नेत, सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो।