सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान बनेको छ।
लुम्बिनी प्रदेशका रौनक श्री वास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १४ छक्काका साथ घरेलु क्रिकेट इतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गरेका हुन्।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे।
गण्डकीले श्री वास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो।
शैलेश काप्mलेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राईक रेटमा आक्रामक ब्याटिंग गर्दै प्रतियोगिताकै रौनक बढाए।
लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७र१७ रनको थप्दा ४७ रन बोनस स्वरूप प्राप्त भयो।
गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए। ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुन पुग्यो।
गण्डकीका अनिष राउतले नटआउट २२, प्रतीक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरूले कसैले पनि दोहोरो अङ्क कटाउन सकेनन्। लुम्बिनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए।
विपिनको धारिलो स्पिन
उता, कालुचोक मैदानमा भएको अर्को खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले आफ्नो धारिलो स्पिनलाई निरन्तरता दिँदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै प्रतियोगिता तालिकामा २ अङ्क चढाउन सफल भएका छन्।
पहिलो खेलमाझैं निकै अनुशासित र किफायति बलिंग गरेका कप्तान विपिनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए।
१० औँ ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै खर्चिए। १२औँ ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औँ ओभरमा मेडनसहित १ विकेट लिए भने १६औँ ओभरमा मेडनसहित ३ विकेट लिए।
विपिनको जिम्मेवारीपूर्ण बलिङ कै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुन पुग्यो। जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेको २ विकेट महत्त्वपूर्ण रह्यो।
सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
यस्तै, अविरल विकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए। सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो।
५६ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आफ्ना ५ विकेट सुरक्षित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अङ्क तालिकामा खाता खोल्न सफल भयो।
कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए। नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए।
लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अङ्कविहीन छ। यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो।
दोस्रो दिनको खेल सकिँदासम्म एक एक खेल खेलेर समान दुई दुई अङ्क जोडेकामध्ये कोशी पहिलो र मधेस दोस्रो स्थानमा रहँदा दोस्रो खेलबाट खाता खोलेको कर्णाली तेस्रो क्रममा रहेको छ।
प्रतियोगिता अन्तर्गत भोलि २१ गते हुने खेलमा कोशी र लुम्बिनी भिड्दा बाग्मती र कर्णालीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) आयोजनामा ३१ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशका टोली सहभागी छन्।