यातायात व्यवसायीले राइड सेयरिङलाई सरकारले कानुनी मान्यता दिएको विरोधमा सोमबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि सर्वसाधारणको जीवन अस्तव्यस्त बनेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अगुवाइमा भएको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन्। जस कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको हो।
यातायात व्यवसायीहरूको आकस्मिक बन्दका कारण बिरामी, काममा जाने कर्मचारी, विद्यार्थी र दैनिक मजदुरीमा निर्भर सर्वसाधारण समेत प्रभावित भएका छन्।
काठमाडौँको बालाजुदेखि बबरमहलसम्म पैदल यात्रा गर्दै बबरमहल आइपुगेका पदमराज जोशीले यातायात बन्दले सर्वसाधारणहरूको बिचल्ली भइरहेको दुःखे सो गरे। ‘२१ औँ शताब्दीमा भौतिक पूर्वाधार बन्द गर्नु राज्य र व्यवसायी दुवैको हो। दुई तिहाइको सरकार भन्ने तर यातायात व्यवसायीसँग झुक्ने ?,’ उनको प्रश्न थियो।
जनतालाई साथ दिनुपर्ने अवस्थामा राइड सेयरिङ गर्नेहरूले चर्को भाडा असुल्नु गलत रहेको भन्दै निजी सवारी साधनमा यात्रु राख्ने कुरामा व्यवसायीले हस्तक्षेप गर्न नहुने बताए।
बबरमहलदेखि भक्तपुर जान हिँडेकी क्रिस्टिना मिश्रले सरकार र व्यवसायीकाबिच कुरा नमिल्दा सधैँ जनताले सास्ती खेपिरहेको बताइन्। उनले यातायात बन्दका कारण सधैँ जसो दुई सय रुपैयाँ तिरेर हिँड्ने गरेको तर सोही दूरीमा यात्रा गर्दा हाल चार सय रुपैयाँ तिर्न परेको दुखेसो पोखिन्।
सार्वजनिक यातायातले पनि मनलाग्दी भाडा लिनुका साथै मान्छे धेरै कोचेर हिँड्दा धेरै चोरी डकैती वा पकेटमारको समस्या हुने गरेको सुनाइन्।
घट्टेकुलोदेखि रत्नपार्क जाँदै गरेका अर्का पैदल यात्रु चेतनाथ पौडेलले यातायात बन्दले सर्वसाधारण अर्थात् गरिखाने वर्गलाई असर गरिरहेको बताए।
उनले ‘यातायात बन्दले सर्वसाधारण अर्थात् गरिखाने वर्गलाई नै असर गरिरहेको छ। अझै कति दिन यस्तो बन्द चल्ने हो थाहा छैन। राइड गर्नेहरूको पनि नियत ठिक हुनपर्छ। नियत ठिक छ भने जतिसुकै राइड भएपनि फरक पर्दैन। नियत नै ठिक छैन भने जे गर्दा नि कठिन हुन्छ। सार्वजनिक यातायातले पनि समयमै पुग्नुपर्ने स्थानमा पु¥याईदिए सजिलो हुनेछ।’
शोभा भगवतीबाट बबरमहल आएकी जसता खतिवडाले बन्दले १५ मिनेटमा पुग्न सकिने ठाउँमा एक घण्टा पैदल हिँडेर आउनु परेको दुखेसो गरिन्।
‘यातायात बन्दले गाडीमा १५ मिनेटमा पुग्ने स्थानमा हिँडेर एक घण्टा भन्दा बढी लाग्यो। राइड सेयरिङमा पनि पैसा धेरै लिन्छ। सर्वसाधारणलाई कष्ट पर्दा धेरै शुल्क उठाउनु राम्रो होइन। सार्वजनिक यातायातहरूले पनि मनलाग्दी गर्ने, धेरै बेर रोक्ने गरेका छन्,’ उनले दुखेसो सुनाउँदै भनिन्।
यातायात बन्दका कारण हुनेखाने भन्दा पनि गरिखाने वर्गले सास्ती व्यहोरिरहेको पैदल यात्रु रश्मी रिजालको गुनासो छ। सरकारी जागिर हुनेहरुलाई बन्द भएपनि सहज भएको तर निजी कम्पनीमा जागिर खानेहरुलाई गाह्रो भइरहेको बताइन्।
बन्दको मौकामा राइड सेयरिङवालाहरुले चर्को शुल्क असुल्ने गरेको भएपनि पैसा हुनेहरू चढेर हुइँरहेको बताउँदै गरिखाने वर्गहरू समस्या परेको बताइन्।
काठमाडौँकै गोलढुंगादेखि बबरमहल आएका रनपान पाण्डेले बन्दले गर्दा सबै खाले वर्गले दुःख पाएको बताए। छोटो दुरीमा पैदल यात्रा गर्न सकेपनि लामो दूरीको यात्रा गर्न कठिन हुने गरेको बताए। उनले पशुपति शर्माको गीतलाई सम्झँदै देशलाई जनता र नेताले नै लुटिरहेको गुनासो गरे।
‘बन्दले गर्दा छोटो दुरीमा त हिँड्न त सकिन्छ तर लामो दूरीको यात्रामा सर्वसाधारणले दुःख पाइरहेका छन्। नेपालमा पठाओवालाहरुले पनि पशुपति शर्माको गीतले भनेजस्तै लुट्न सके लुट कान्छा जस्तै गरिरहेका छन्।’