प्रतिनिधिसभा सदस्य पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको प्रशंसा गरेकी छन्।
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन पुगेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकाले यस्ता किसिमका कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत मिल्ने बताइन्।
उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रदेखि जिल्ला तहका नेताले कोटिहोम दर्शन गरेका थिए।
कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गर्दै धेरैको ध्यान आकर्षित गरेकी थिइन्।
उनी मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पाण्डलमा आएका थिइन्।
उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने छिन्। देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।