जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेका १ जना थुनुवाको उपचारका क्रममा आज (मङ्गलवार) बिहान मृत्यु भएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको जोशीले जानकारी दिए। 

एक्कासि ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९ः२० बजेतिर उपचारका लागि कोशी अस्पताल लगिएकोमा श्रेष्ठको उपचारकै क्रममा ११ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। 

श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो।