भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिँदा समस्या भएको बताएका छन्। 
मङ्गलवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले खराब नियत भएका मान्छेहरूका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन्। 
उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ। कानुन नभएको होइन। कानुनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ। सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ। तर यस्ता कामहरू गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ।’
उनले अगाडि प्रष्ट पार्दै भने,‘यसमा दुई वटा कुरा छन्। एउटा भनेको नियत नै खराब हुन्छ, अर्को भनेको नियत सफा भएर कामहरू गर्दा पनि प्रश्नहरू उठाउने गरिन्छ। यस्ता खालका समस्याहरूले काम गर्न समस्या भइरहेको छ।’ 
अलपत्र परेका पूर्वाधारका बारेमा बोल्दै उनले जुन सरकार आए पनि योजना बनाई बजेट माग गरी अर्को सालमा छाड्ने प्रवृत्ति भएको बताए। उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए।
यसैगरी बैठकमा बोल्दै सहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरो आउने सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइने बताए। 
गत वर्षको बाढीको क्षतिबाट पाठ सिक्दै समयमा नै नदी वा खोलाहरूलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा छ।