नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएको छ। उनको काठमाडौँको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ। 
अन्नपूर्ण न्यूरो अस्पतालले आलमको अहिले स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएको हो। अस्पतालले शनिवार बिहान पछिल्लो अपडेट दिँदै आलमलाई सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार आवश्यक रहेको जानकारी दिएको छ। 
उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमलाई मस्तिष्क घात नै भएको अस्पतालले पुष्टि गरिसकेको छ।
यसअघि जेष्ठ १६ का दिन बिहान करिब ७:०० बजे अस्पताल प्रशासनले पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। 
उनको शारीरिक रगत तथा एमआरआइ जाँच पश्चात् उनलाई मस्तिष्क घात भएकाले तुरुन्तै औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अस्पताल आएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उल्लेख गरेको छ।
राजपुर बमकाण्डको अभियोगमा आलम ५ वर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहा भएका हुन्।