उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले साइकलको महत्त्व र प्रयोगलाई बढाउन आवश्यक रहेको बताएका छन्।
विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्‍याली कार्यक्रममा बोल्दै उनले मोटरसाइकल र  गाडीहरूको यात्रा गर्दा धुवाँ–धुलोले वातावरणलाई दूषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदाजनक भएको बताएका हुन्।
‘साइकलको महत्वलाई हामी सबैले बुझ्न जरुरी छ। यो र्‍याली वर्षको एकचोटि मात्रै गरेर हुँदैन। अनवरतरुपमा लागिरहनुपर्छ। साइकलको महत्त्व र प्रयोगलाई बढाउन आवश्यक छ। साइकल यात्रा गर्दा हरेक कुरामा फाइदा छ। मोटरसाइकल र गाडीहरूको यात्रा गर्दा धुवाँ धुलोले वातावरणलाई चाहिँ दूषित गरिरहेको छ।’
साथै उनले साइकल लेन हुनुपर्छ भन्ने यात्रुहरूको गुनासोलाई सहरी विकास मन्त्रालयले ध्यान दिने पनि बताए। उनले यस्ता साइकल र्यालीहरुले स्थानीय बासिन्दाहरूको लागि सचेतना फैलाउने एउटा माध्यम समेत हुने गरेको बताए।
उनले भने, ‘साइकल लेन हुनुपर्छ भन्ने धेरै यात्रीहरूको गुनासो छ। त्यसलाई सहरी विकास मन्त्रालयले ध्यान दिने छ। काठमाडौँ उपत्यकामा धेरै धुवाँ धुलोले गर्दा फोक्सोको रोगीहरू बढिरहेका छन्। यसरी रोकथाम गर्नको लागि जुन र्‍यालीको अभियान चलाउनुभयो यो अभियानले स्थानीय बासिन्दाहरूको लागि सचेतना फैलाउने एउटा माध्यम पनि हो।’