मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्याली सम्पन्न भएको छ।

‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित शुक्रबार र्याली गरिएको हो। र्यालीमा नेपालका विभिन्न जिल्लाका करिब चार सय साइकल यात्री सहभागी रहेको आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ। त्यस्तै, करिब २० वटा घोडा र्यालीमा सहभागी थिए।

र्यालीका क्रममा यात्रीहरू विभिन्न धार्मिक, सांस्कृतिक तथा एतिहासिक ठाउँहरूमा पुगेका थिए। र्यालीमा सहभागीहरूका लागि ठाउँ-ठाउँमा स्वागत गरिएको थियो।

सोमसोम बजारस्थित कबड हलको खेलमैदानबाट सुरू भएको र्याली ठिनी, ढुम्बा ताल, छैरो, चिमाङ, मार्फा, स्याङ गाउँ हुँदै जोमसोमस्थित गाउँपालिकाको कार्यालयमा पुगेर समापन भएको थियो।

गाउँपालिकाले र्यालीपछि सहभागीलाई मायाको चिनोसहित सम्मान गरेको थियो। समापन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, जोमसोमस्थित सरकारी कार्यालयका प्रमुखहरू, साइकल यात्रीहरू तथा स्थानीयको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले हिमाली जिल्ला मुस्ताङमा पहिलोपटक भएको यो र्यालीले यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने बताए। उनले उपस्थित सबैलाई धन्यवाद दिए।

त्यस्तै, आगामी दिनमा मुस्ताङमा अझै व्यापक साइकल र्याली गर्ने अध्यक्ष लालचनको भनाइ थियो।